श्री मन्त्रालय/सचिवालय/आयोग/विभाग/केन्द्रीय निकायहरु |
विषय:- काज फिर्ता सम्वन्धमा |
प्रस्तुत विषयमा यस मन्त्रालयको प.सं. २०७२/७३, च.नं. १६२, १८४, मिति २०७२/८/१३ र २०७२/८/२८ को पत्रबाट पटक पटक (ताकेता समेत) गर्दा पनि कतिपय निकायबाट अन्तर्र निकाय तथा आन्तरिक रुपमा काज खटाइएका कर्मचारीहरुलाई कानूनत पदाधिकार रहेको निकायमा फिर्ता नगरेको पाईएकोले देहाय बमोजिमको पुष्ट्याई सहितको ताकेता पत्र ३(तीन) दिनको म्याद दिई पठाउने नेपाल सरकार (मा. मन्त्रिस्तर) को मिति २०७२/१०/०६ मा निर्णय भएकोले सोही बमोजिम गर्नु / गराउनुहुन अनुरोध छ ।
तपसिल
(१) ऐनको दफा १८.क.(१) अनुसार यस मन्त्रालयबाट वा तहाँ निकायबाट अवधि किटान गरी ३ महिनाको लागि काज खटाइएका सबै निजामती कर्मचारीको काजको म्याद समाप्त पछि तत्काल पदाधिकार निकायमा काज फिर्ता गर्ने,
(२) ऐनको दफा १८.क.(२) अनुसार यस मन्त्रालयद्वारा वा यस मन्त्रालयको सहमतीमा तहाँ निकायको निर्णयद्वारा निजामती सेवाको पद नभएको निकायमा र स्वीकृत अस्थायी दरवन्दीमा बढीमा एक वर्षका लागि काज खटाएको भएमा काजको म्याद समाप्त भएपछि तत्काल पदाधिकार रहेको निकायमा काज फिर्ता गर्ने,
(३) काजको अवधि नकिटिएको वा अर्को व्यवस्था नभएसम्मको लागि यस मन्त्रालय वा तहाँ निकायबाट काज खटाइएका कर्मचारीलाई तत्काल पदाधिकार निकायमा काज फिर्ता गर्ने,
(४) विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा पदाधिकार कर्मचारीलाई अन्यत्र निकायमा काज खटाई निजको स्थानमा अर्को कर्मचारीलाई काजमा खटाइएको भएमा काजमा खटिएका दुबै कर्मचारीलाई तत्काल पदाधिकार कायम भएको निकायमा काज फिर्ता गर्ने,
(५) विशेष ऐनको व्यवस्थाद्वारा काज खटिएका वा मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन बमोजिम निजी सचिवालय काज वा दरवन्दी व्यवस्थापन नभएका फाजिल तथा विविध सेवा, विशेष समूहका कर्मचारीहरुको हकमा माथि उल्लेख गरिएको व्यवस्था लागु नहुने,
(६) काज फिर्ता वा व्यवस्थापन गर्दा भूकम्पबाट अति प्रभावित जिल्लाहरुको स्थानीय गा.वि.स. स्तरमा काजमा कार्यरत कर्मचारीहरुलाई स्थानीय स्तरमा पदस्थापन हुने गरी व्यवस्थापन गर्ने,
(७) काज फिर्ता गर्ने व्यवस्था कार्यान्वयन गर्दा तत्काल कार्य सम्पादन गर्न र सेवा प्रवाहमा बाधा हुने भएमा कर्मचारीको काज फिर्ताको पत्र र कार्यसम्पादन गर्न आवश्यक कर्मचारीको माग पत्र संगसंगै यस मन्त्रालयलाई पठाउने,
(८) काज फिर्ता गर्ने व्यवस्था प्रभावकारी रुपमा लागु गरी निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली २०५० को व्यवस्था परिपालना गर्ने गराउने दायित्व रहेको सम्बन्धित निकायको प्रमुख प्रशासकीय अधिकारी (सचिव/विभागीय प्रमुख/कार्यालय प्रमुख)ले सात दिन भित्र कार्य सम्पन्न गरी यस मन्त्रालयलाई जानकारी गराउने,
(९) काज खटाउदा ऐनको दफा १८.क विपरित भएमा काज खटाउने पदाधिकारीबाट ऐनको दफा १८.क बमोजिम काज खटी जाने कर्मचारीले खाइपाई आएको तलब, भत्ता तथा अन्य सुविधा सरकारी बाँकी सरह असुल उपर गर्ने प्रकृया अगाडी बढाइने ।
सामान्य प्रशासन मन्त्रालयको परिपत्रको लागि Download मा Click गर्नुहोस् ।