नेपाल सरकार
सामान्य प्रशासन मन्त्रालय
सरुवा सम्वन्धी मापदण्ड, २०७१
निजामती सेवा ऐन, २०४९ को दफा १८ (१) बमोजिम अन्तर मन्त्रालय सरुवा गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयलाई तोकिएको, सोही दफाको उपदफा (३) तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ (१) बमोजिम साउन महिनामा यस मन्त्रालयबाट अन्तर मन्त्रालय सरुवा हुने हुँदा निजामती सेवा ऐन/नियमावलीमा उल्लेखित प्रावधानको अतिरिक्त नियम ३६ को उपनियम (१५) र (१६) बमोजिम देहायको मापदण्ड निर्धारण गरी सम्वन्धित सवैको जानकारीको लागि यस मन्त्रालयको सूचना पाटी एवं Website मार्फत सार्वजनिक गरिएको छः–
- सेवा प्रवाह गर्ने निकाय तथा दुर्गम स्थानका कार्यालयहरुमा पद रिक्त नहुने गरी सरुवा गर्ने ।
- “क” वर्गको भौगोलिक क्षेत्रमा न्यूनतम अवधि पुरा गरेको कर्मचारीलाई रिक्त पद मिलेसम्म निजले मागेको निकायमा सरुवा गर्ने ।
- “ख” वर्गको भौगोलिक क्षेत्रमा न्यूनतम अवधि पुरा गरेको कर्मचारीलाई मागेको निकायमा सरुवा गर्न प्राथमिकता दिने ।
- संस्थागत जानकारी र आवश्यकता समेतलाई मध्यनजर गरी एउटै कार्यालयमा लामो अवधि बसेका कर्मचारीहरु मध्येबाट सवै भन्दा बढी अवधि भएकालाई पहिले सरुवा गर्ने ।
- शुरु पदस्थापन हुने र तीन महिना भन्दा बढी अवधिको वैदेशिक अध्ययन तथा तालिम पुरा गरी फर्केका कर्मचारीहरुलाई दुर्गम स्थानका सेवा प्रवाह गर्ने कार्यालयमा पदस्थापन हुने गरी सरुवा गर्न प्राथमिकता दिने ।
- केन्द्रीयस्तरमा मात्र कार्यालय तथा दरवन्दी रहेका निकायबाट स्थानीय स्तरमा सेवा प्रवाह गर्ने कार्यालय तथा दरवन्दी हुने निकायमा आलोपालो हुनेगरी सरुवा गर्ने ।
- विकास आयोजनाको अस्थायी दरवन्दीमा काज खटाउँदा आलोपालो गरी पहिले मौका नपाएका लाई प्राथमिकता दिने ।
- कुनै मन्त्रालय÷सचिवालय÷आयोग अन्तर्गत यसअघि ५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुरा गरिसकेको कर्मचारीलाई सोही पदमा सामान्यतयाः दोहोर्याएर सरुवा नगर्ने ।
- राम्रो कार्यसम्पादन गर्ने, सदाचारी तथा अनुशासित कर्मचारीलाई मागेको निकायमा सरुवा हुने गरी प्राथमिकता दिने । पुरस्कृत गर्नु पर्नेलाई दण्डित भएको महसुस हुने गरी र तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक वहन नगर्नेलाई प्रोत्साहित हुने गरी सरुवा नगर्ने ।
- विभागीय कारवाहीको प्रक्रियामा रहेको कर्मचारीलाई सो कारवाही वा कारवाहीको प्रकृयाबाट उन्मुक्ति पाउने किसिमले अन्यत्र सरुवा नगर्ने ।
- कुनै कार्यालयमा कार्यरत तोकिएको जिम्मेवारी पुरा नगर्ने/कार्यालयको काममा समस्या सिर्जना गर्ने कर्मचारीलाई कार्यालय प्रमुख÷विभागीय प्रमुख र सम्बन्धित मन्त्रालयको सचिवको सिफारिसमा अन्यत्र सरुवा गर्ने ।
- कुनै कर्मचारी कार्यरत स्थानमा उपचार हुन नसक्ने भनी मेडिकल वोर्डले सिफारिस गरेमा त्यस्ता कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा १८ (४) को प्रतिवन्धात्मक वाक्यांश तथा उपदफा (७) को प्रतिकुल नहुने गरी मागेको निकायमा सरुवा गर्ने ।